काठमाडौं । छात्रावासमा बालिका शालीन पोखरेलको आत्महत्या प्रकरणलाई लिएर आफन्तले हत्याका अभियोग लगाइ रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो घटनाले आफूलाई बेचैन बनाएको बताएका छन् ।
यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस भन्दै अध्यक्ष ओलीले सबैले उक्त घटनको अनुसशन्धानलाई सहयोग गर्न पनि अपिल समेत गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने बताउँदै हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन अनुरोध समेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया शालीन पोखरेलको मृत्यु भएको एक साता पुगिसकेको छ ।
गत शनिबार आफू बस्ने होस्टलको कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । पोष्टमार्टममा ढिलाई हुँदा एक सातासम्म पनि मृत्युको कारण खुल्न सकेको छैन ।
बालिकाका परिवारले उनको हत्या भएको दाबी गर्दै आएको छ ।
प्रहरीले अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक रत्ननगर– १० का ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरेको छ । शालीनको मृत्युपछि उनका बुबासहित परिवारजनले ती व्यक्तिहरूविरुद्ध हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए ।




















