काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयले सुरु गरेको नयाँ जहाज खरिद प्रक्रियामा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री काम गर्न भन्दा धेरै प्रचारबाजीमा लागेको आरोप लगाए ।
दिनदिनै कमजोर बन्दै गएको नेपाल एयरलाइन्सलाई व्यवस्थित ढंगले चलाउनुपर्नेमा पर्यटनमन्त्री भने कमिसनका लागि नयाँ विमान खरिदको चलखेलमा लागेको अरोप लगाएका हुन् ।
विश्वका अरू देशमा फेजआउट भएको र उत्पादनसमेत बन्द भएकोे पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदन किराती लागेको उनले बताए । अध्ययन समितिले पनि किन्न नसक्ने अवस्था रहेको छ भनिरहँदा पनि मन्त्रीले खरिद प्रकृया सुरु गरेको सांसद खतिवडाले तर्क गरे ।
सांसद खतिवडाले यसअघि खरिद गरेको वाइड बडी र न्यारोबडी जहाजको व्याज तिर्न नसक्ने अवस्थामा नेपाल एयरलाइन्स रहेको दाबी गरे ।
मन्त्री किराँती ठोस काम भन्दा पनि प्रचारमुखी काममा लागेको सांसद खतिवडाको भनाइ थियो ।
हजारौं स्थायी कर्मचारी रहेको विमानस्थलमा ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको भन्दै उनले मन्त्री किरातीको आलोचना गरे । सरकारका जिम्मेवार मन्त्री करोडौं करोडको चलखेलमा लाग्दा नागरिकमा निराशा बढेको उनको भनाई छ ।