रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्विक महादेव मन्दिर छेउमै दिब्य ज्योती देखिएको स्थानीयहरूले दाबी गरेका छन।
महा शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महोत्सवको तयारी चलिरहेकै अवस्थामा मन्दिर छेउ जग्गा उत्खनन भईरहेको स्थानको नजिकै उक्त दिब्य ज्योती देखिएको स्थानीयहरूले दाबी गरेका हुन ।
मधानी महाेत्सवबारे जानकारी दिन नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारहरु उत्खनन स्थल निरीक्षण गर्न जाँदा दर्जनौंको संख्यामा रहेका स्थानीयहरूले दिब्य प्रकाश देखेको बताएका थिए। स्थानिय प्रत्यक्षदर्शी रामाकान्त यादवका अनुसार पुरातात्विक महादेव मन्दिर भन्दा करिब ५० मीटर र उत्खनन भईरहेको स्थान बाट मात्र २५ मीटरको दूरीमा खाली खेतमा राती ८ बजेको समयमा एउटा दिब्य प्रकाश देखियो। यादवले उक्त प्रकाश देखेर अन्य छिमेकीहरूलाई पनि बोलाए। सबै चकित हुँदै दिब्य प्रकाश हेरी रहे, सो क्रममा कैयौंले आआफ्नो मोबाईलबाट फोटो समेत खिचेको उनको भनाई छ। बिस्तारै त्यहाँ दर्जनौ महिला पुरुष जम्मा भए र हो-हल्ला सुरुभएपछि प्रकाश कम हुँदै निभेको अर्का प्रत्यक्षदर्शी ऋषि यादवले बताएका छन। उनका अनुसार क्रीकेटको बौल जस्तो आकार बाट सुरुभएको प्रकाश फुटबलको आकार जस्तो भएर निभेको थियो।
प्रकाश निभेपछि त्यहाँ जम्माभएका मानिसहरू प्रकाश आएको स्थानमा गएर हेर्दा आधा टुक्रा ईट फेला परेको उनीहरूले बताएका छन। उक्त प्रकाशलाई स्थानीयहरूले भगवान शिव रूपी दिब्य ज्योती भएको विश्वास लिएका छन्। त्यहाँ भेटेको ईटको टुक्रा उत्खनन भईरहेको स्थानमा निकfलिरहेको ११ औं सताब्दी भन्दा पहिले गुप्त कालको जस्तो रहेको विज्ञहरुले बताएका छन।
पुरातत्व विभागका अवकास प्राप्त कर्मचारी देवनाथ तिवारीका अनुसार उत्खननमा निकालिएका ईटाहरु १२ सय बर्ष अगाडि सेनकालीन अथवा कर्नाटकालिन समयको रहेको जानकारी दिए । यस अघि उत्खननकै क्रमाम सेनकालीन कर्नाटकालिन मन्दिर फेला परेपछि उक्त स्थानमा पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा ७ बर्ष अघि महादेव मन्दिरको निर्माण गरिएको थियो।
गतबर्ष बिभिन्न आधुनिक उपकरणसहित त्यहाँ पुगेका जर्मनका पुरातत्व विभागका टोलीले मन्दिर भन्दा ५० मीटर उत्तरतर्फ जमीनमुनि अर्को संरचना रहेको बताए पछि मौलापुर नगरपालिकाले त्यहाँको २ कठा जग्गा २० लाख रुपैयाँमा खरीद गरेको मेयर रिना कुमारी साहले बताएकी छन्। हाल सोही स्थानमा उत्खनन जारी रहेको छ। जमिनको २ मीटर मुनि पर्खाल र ढोका आकारको जोडिएको ईटाहरु निक्लिरहेको छ। तिवारीका अनुसार उत्खनन कार्य १० दिनमा समाप्त भएपछि भित्रको संरचना के हो त्यस बारे पूर्ण जानकारी हुनेछ ।
मौलापुर स्थित पुरातात्विक महादेव मन्दिर र उत्खनन भईरहेको स्थान बाट निकालिरहेको ईटा चौथो शताब्दीको रहेको भारत बिहारका एकजना पुरातत्वविद् बताएका छन। भारत बिहार सरकारका पुरातत्व विभागका अवकास प्राप्त कर्मचारी बिधा चौधरी गतबर्ष उक्त स्थानको स्थलगत निरीक्षण पश्चात मन्दिर र त्यहाँ प्राप्त ईटाहरु चौथो शताब्दी गुप्त कालको रहेको बताएको एकजना स्थानिय लेखक सञ्जय साहले जानकारी दिएका छन।

उक्त महादेव मन्दिर लाई विश्व सम्पदा सूचीमा समावेस गराउन पूर्व मन्त्री प्रभु साहको सुझाव र मेयर रिना कुमारी साहको पहलमा २०७६ साल देखि प्रत्येक बर्ष शिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना हुँदै आएको छ।
नगरप्रमुख साहले भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रुपमा मनाइने अनुष्ठान मधानी महायज्ञमा भगवान शिवको बरात ( जन्ती) यात्राबाट सुरु भई जल, जमिन र बसहाको पुजन सहित शुभारम्भ हुने र शिव विवाह लिला समेत प्रदर्शन गरिने बताइन् ।
यस पटक महायज्ञको बिशेष आकर्षणको लागि बलिउड अभिनेता गोविन्दा अहुजा, भोजपुरी अभिनेत्री निलम गिरी, गायक विनय विहारी, नेपाली अभिनेता पल साह, दिनेश डिसी, कमल राई, प्रेम परियार, रचना सिवाकोटी, अर्जुन विसी, प्रिति आर्या, सुनिल पंडित, विजय यादव निर्जिव, राविराज साह, सदाम हुसेन, दिेपश शर्मा, आश्विनी शाही, डा. आभास लाभ, प्रदीप पाठक, निर्देशक नन्दु श्रीवास्तव, भोजपुरा गायक सुनिल पण्डित, गायक रबिराज साह लगायत ३० जना कलाकारको प्रस्तुति हुने मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन।
मधानी महोत्सवमा साँस्कृतिक कार्यक्रम संगै अन्तरराष्ट्रिय पहलवानहरुको सहभागितामा दंगल कुस्ती प्रतियोगिता हुनेछ। प्रतियोगिामा भारतको स्वर्णपदक विजेता बबिता फोगाड संगै भारत र नेपालका दर्जनौं अन्तर्राष्ट्रिय पहलवानहरुको सहभागिता हुने मौलापुर नगरपालिकाले जनाएको छ। यस पटक फागुन २२ गतेदेखि २६ गतेसम्म हुने मधानी महोत्सवमा नेपाल र भारतका गरी १० लाख मानिसले अवलोकन गर्ने आयोजक मौलापुर नगरपालिकाले लक्ष्य लिएको छ।
























