काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।
राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई थियो ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे ।
उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने बताए । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरु लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताए । उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराए । आफैँ क्यान्सर रोगको पीडाबाट मुक्त भएकी उनले किशोरीहरुलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए । उनले काठमाडांै उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि बताए ।




















