काठमाडाैं । काठमाडाैंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंहसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिषाकी दिदी र श्रीमानसमेत छन् ।
प्रहरीले सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार गरी चोरी गर्ने महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।




















