काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रलाई धरायासी पार्न र विकास निर्माण ठप्प पार्न केही व्यक्ति समूहले बैंक विरुद्ध अफवाह फैल्याउने अभियान चलाइरहेको बताएका छन् ।
मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन ।
अहिले केही व्यक्तिले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला गरिरहँदा गठवन्धन सरकार मौन बसेको पनि बताएका छन् । नियोजित तरिकाले हमला गरेर निक्षेपकर्ताका साथै बैंकहरूलाई डुबाउन खोजिएको ओलीले बताए । यसरी बैंक डुबाएर देशमा भइरहेका आयोजनाहरू पनि कोल्याप्स पार्ने प्रयास हुनु राम्रो काम नभएको ओलीको टिप्पणी छ ।
ओलीले भने – “एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने । एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने । त्यस प्रकारका प्रयासहरू भएका छन्, त्यसविरूद्ध लड्न सरकारसँग कुनै सोँच देखिदैन ।”