काठमाडौं । काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ । ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला र उनका दुई वटी छोरीको हत्या भएको हो ।
हत्या भएकामा सात-आठ वर्षीया बालिका र अर्की एक करिब दुई वर्षीया बालिका रहेका छन् ।
‘घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो ।
घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ । घटनापछि उनी फरार भएका छन् । उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।




















