लुम्बिनी । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।
बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते छन् । तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।
मृतकमध्ये ७ पुरुष र ३ महिला छन् । मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका–१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।