काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ –“बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।
संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने बैंकको Mission मा निरन्तर सफल हुँदै गइरहेको पुष्टी हुने तथ्य समेत सहर्ष जानकारी गराउँदै बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको तथ्य समेत सम्पूर्ण सरोकारवालाहरूलाई प्रस्ट पार्दछौं ।”
हालै विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी आएका समाचारलाई वैंकले अफवाहहरू फैल्याउनु दुष्प्रयास भनेको छ । बैंकले विज्ञप्तिमा भनेको छ “यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुनुहुन सम्पूर्ण सरोकारवाला महानुभावहरूमा बैंक परिवार हार्दिक अनुरोध गर्दछ । साथै आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तीमार्फत स्पष्ट पार्न चाहन्छौं ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।”