काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ ।
जितसँगै नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । २२८ रनको विजयी लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३.५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो ।
नेपाली बलरसामु माल्दिभ्सका ब्याटर टिक्न सकेनन् । माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । माल्दिभ्सकी सुमय्या बिन्थ अहमिदले बनाएको ५ रन नै सर्वाधिक धेरै रन बन्न पुग्यो र यस्तै नबा बिन्थु नसिमले २, हब्सा अब्दु्लाहले २-२ रन जोडे । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए ।
नेपालको तर्फबाट अस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । यस्तै पूजा महतो र रुविना क्षेत्रीले ३-३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको थियो ।