खोटाङ । रावा बेसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले यही माघ २२ गते शिलान्यास गरेको भवन निर्माणको काम धमाधम भइरहेको छ ।
करीब ५ करोड लागतमा निर्माण हुने भवन सुविधा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
यसअघि गाउँपालिका ट्रस्ट भवन निर्माण गरेर सञ्चालन भइरहेको थियो । सो ट्रष्ट भवन भत्काएर ४ करोड ७६ लाख १६ हजार ७ सय ९० रुपैयाँ ३६ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
३० महिनामा सक्ने गरी एसई धुम एमकेएस जेभीले भवन निर्माणको जिम्मा लिएको छ । भवन निर्माणको लागि जेभीले गत असोज २१ गते सम्झौता गरेको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न
रावावेशी गाउँपालिकाको आयोजनामा श्री देउराली माविमा हालै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगीतामा ६ वटा वडाका ७ वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगीतामा १२ स्वर्ण, १० रजत, ४ कास्य गरी जम्मा २६ पदक प्राप्त गरी श्री शारदा मावि खार्पा प्रथम, ८ वटा स्वर्ण १० रजत र ६ कास्य गरी जम्मा २४ पदक ल्याएर श्री देउराली मावि द्वितीय भएको थियो भने ६ स्वर्ण १ रजत र ६ कास्य गरी जम्मा १३ पदक ल्याएर श्री शारदा मावि हौचुरले तेस्रो स्थान ओगट्न सफल भएको थियो ।
सवै विजेतालाई पालिका अध्यक्ष फटिक श्रेष्ठ र उपाध्यक्ष कौशिला गुरुङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
वडास्तरीय भलिवल प्रतियोगीता
रावावेशी गाउँपालिकाको वडा न. ५ दुवेकालमा माघ २१, २२ र २३ गते तीन दिनसम्म भएको वडास्तरीय भलिवल प्रतियोगीता सम्पन्न भएको छ । जसमा वडा नं. १ कुभिण्डे प्रथम वडा नं. ५ दुवकोल द्वितीय वडा नं. ४ लामिडाँडा त्रृतीय भएको थियो । विजेता टिमलाई पालिका अध्यक्ष श्रेष्ठले क्रमस ः प्रथम, द्वितीय र तृतीय टिमलाई रु. एक लाख, ७० हजार र ४० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
– रमेश पाण्डे