काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ ।
सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।
आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए । नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेकोमा शंका लागेपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोट बरामद भएको रेग्मीले बताए ।
बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् ।
गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।