काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो । उनको सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो ।
पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पुरीले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेर सम्पत्ति बढाएको आरोप लागेको थियो । उक्त विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतमा पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो । विशेष अदालतले उनीहरू सबैलाई कसुरदार ठहर गरेको विशेष अदालतले जनाएको छ ।
विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेकै बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए ।
पुरीमाथि विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा विचाराधीन भएको अवस्थामै पुरीलाई टिकट दिएर माओवादीले पुरस्कृत गरेको थियो ।
पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो ।
केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ । दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो ।
देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो छ । सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको थियो ।
दमक नगरपालिका-८ (साबिक १३ र १४) मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ ।
त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए ।
पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको विभागको अनुसन्धानले देखाएको छ । मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको थियो ।
विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो ।