काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् पक्ष भएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विषयहरु प्रकाशित भएको भन्दै यस खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र शतर्क हुनुपर्ने बताउनु भयो ।
उहाँले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र नभइ ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिनुभयो । उहाँले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुनुपर्ने बताउनु भयो ।
राष्ट्रपति पौडेलले मुलुकको नीति, कानून निर्माण विकास व्यवस्थापन र नागरिकहरुको आधारभुत सेवा प्रवाहमा संलग्न अधिकार प्राप्त अधिकारीहरुलाई प्रचलित नीति र कानून बमोजिम निर्धक्कसाथ विवेकशील निर्णय र कार्य सम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्ने चुनौति आयोग तथा सम्बन्धित निकायका सामु देखापरेको बताउनु भयो ।