काठमाडौं । नेपालले क्यानडालाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल अगावै पूरा गर्यो ।
क्यानडाले नेपाललाई ठूलो स्कोरको लक्ष्य दिए पनि कप्तान रोहित पौडेल र देव खनालले उत्कृष्ट साझेदारी गरेपछि विजयी सम्भव भएको हो।
नेपालका लागि कप्तान पौडेलले ८७ रन र खनालले ७६ रन बनाए। १०१ बलमा पौडेलले ८ चौका र ४ छक्का प्रहार गरे भने खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै पवन सर्राफ ८ बलमा १४ रन र भीम सार्की २१ बलमा ४ चौकासहित २३ रनमा आउट भए भने ओपनर आरिफ शेख १० रन बनाएर आउट भए। अर्का ओपनर अनिल साह भने कीर्तिमानी अर्धशतक बनाएर आउट भएका थिए। त्यस्तै सोमपाल कामी र कुशल मल्ल ९-९ रनमा अविजित रहे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। क्यानडाका लागि आरुन जोहन्सनले सर्वाधिक ६५ रन बनाए। त्यस्तै नभनितले ४६, श्रेयसले ४०, पर्गतले ३८ र निकोलशले २० रन बनाए। उदय भागवान भने २० रनमा अविजित रहे।
नेपालले क्यानडासँगको अन्तिम खेल पर्सी खेल्नेछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित आइसीसी लिग २ को खेल खेल्नेछ। सोही टिमसँग विश्वकप लक्षित टी-२० खेल पनि नेपालले खेल्दैछ।