काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पुस २५ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।
सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको हो । उक्त आइपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि खुला गरिएको थियो सोही आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकोले आवेदकले आज कार्यालय समयभित्र आवेदन दिनसक्ने छन । स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको हो ।
यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्ने हुन्छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।
यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १, २ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नम्बर ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।
सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।