सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नजिक नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी सोमबार साँझ ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएका ११ मध्ये एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए । घाइते भएका सर्लाहीको बागमती नगरपालिका( ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ । उनको वीरगञ्ज नजिक रहेको एलेक्स न्युरो न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन। तर, जिपमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति पौने ८ बजेतिर बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा ३ का रामलाल साह पनि घाइते भएको बताइएको छ ।
दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन् ।
गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो ।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । ट्याक्टरका मालिकलाई प्रहरी कार्यालयमा बोलाइएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























