काठमाडौँ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको बताइएको छ ।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ । थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो । प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो ।
अरुण चौधरी ग्रुप (सीजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद अर्बपति विनोद चौधरीका भाइ हुन् ।
सीजी होल्डिङ्सका चेयर म्यान चौधरीलाई काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको बुझिएको छ । अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए ।
मिचिएको सरकारी जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको बुझिएको छ।
बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सो जग्गा घोटालाबारे उजुरी परेको बताइएको छ ।