काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि काठमाडौं न्युरोड क्षेत्रका व्यापारीले बुधबार पनि प्रदर्शन गरेका छन् । काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै व्यापारीहरुले सटर बन्द गरी प्रदर्शन गरेका हुन् ।
उनीहरू मंगलबार पनि सटर बन्द गरेर महानगरको निर्णयविरुद्ध सडकमा उत्रिएका थिए। व्यापारीहरूले आर्थिक मन्दीले सुस्त रहेको व्यापारमा महानगरपालिकाको निर्णयले थप प्रभाव पर्ने बताएका छन् ।
व्यापारीहरुले न्युरोड,महाबौद्ध,खिचापोखरीलगायत क्षेत्रमा विकल्प दिएर मात्रै पार्किङ निषेध गर्न सुझाव दिएका छन् । न्युरोड क्षेत्रमा आउने ग्राहकहरुलाई काठमाडौ टावरमा पार्किङ गरेर आउँदा निकै टाढा पर्ने र जसका कारण व्यवसायमा नै असर पर्ने उनीहरुको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले महानगरको निर्णयले व्यवसाय बिग्रने भएकाले पूर्वाधार निर्माण गरेर मात्रै विकल्प दिनुपर्ने बताए। त्यस्तै व्यवसायीहरुले व्यापार घाटा र आफूहरुको समस्याको जिम्मा अब महानगरले लिनुपर्ने बताएका थिए ।
पार्किङ निषेध गर्ने निर्णय महानगरले सच्चाउनुपर्ने उनीहरूको माग छ ।
काठमाडौं महानगरले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रको कालोपत्रे सडकमा मंगलबारदेखि पार्किङ निषेध गरेको हो । महानगरले सो क्षेत्रको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइने जनाएको छ ।




















