रौतहट । पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ र ३ थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारु सहित २४ लाख भन्दा बढी बरामद गरेको हो । गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख, ७६ हजार ८७५ रुपैया र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन ।
सशस्त्र प्रहरीले जिल्लाको बिभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा गत असार २२ गते स्रोत नखुलेको ४ लाख ७१ हजार रुपैयाँ, मोटरसाईकलसहित एकजनालाई पक्राउ गरेको थियो ।
त्यस्तै गत पुस २० गते ५ लाख,११ हजार,८७५ सहित मानिस मोटरसाइकल, माघ ५ गते ५ लाख ९४ हजार सहित मानिस मोटरसाईकल, त्यस अघि ५ लाख २२ हजार भारतीय रुपैयाँ सहित दुईजना मानिसलाई पक्राउ गरिएको एसपी रेग्मीले बताएका छन ।
बरामद रकम, मोटरसाईकल सहित मानिसलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटले जनाएको छ ।