काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पुस ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले गरेको पुनको नियुक्तिलाई आइतबार अदालतले वदर गरिदिएको हो ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत भएकी पुन कार्यकारी निर्देशक पदमा नियुक्त भएपछि उनको योग्यता र मापदण्डको विषयलाई लिएर गौश्वाला क्षेत्रमा विरोधसमेत भएको थियो ।
कार्यकारी निर्देशक पुनविरुद्ध पुस २६ गते भरत मरासिनीले नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले मरासिनीको रिटमाथि सुनुवाइ गर्दै कोषको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
यस अगाडि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पुुस १२ गतेको बैठकमा पनि पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएकी कार्यकारी निर्देशक पुनको नियुक्तिसम्बन्धी कागजातहरू ३ दिनभित्र समितिमा पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको थियो ।
समितिको बैठकले निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणलगायत कागजात मागेको थियो ।