लमही । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३–१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ ।
मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको ज्यान गएको थियो ।