काठमाडौँ । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । न्याय परिषद्मार्फत् प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई उनले राजीनामा बुझाएका हुन ।
उनले गरेका केही मुद्दाको फैसलामा विवादित भएपछि गत वर्ष नै न्यायपरिषद्मा तानिएका न्यायाधीश भट्टराईले आफूमाथिको छानबिन नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै राजीनामा दिएका हुन् ।
न्यायधीश भट्टराईसहित यसअघि छानबिनमा तानिएका तीनजनासँग सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई नेतृत्वको समितिले बयान लिइरहेको थियो । उक्त समितिले छानबिन सकेर प्रतिवेदन बुझाउने तयारी गरिरहेका बेला भट्टराईले राजीनामा दिएका हुन ।
समितिमा सर्वोच्च अदालतकै न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठ सदस्य छन् ।
समितिलाई यसअघि भएका जाँचबुझको प्रतिवेदन अध्ययन गर्ने, आवश्यक परे थप प्रमाण बुझ्ने, बयान लिने र कारबाहीका लागि आवश्यक राय दिने गरी कार्यादेश दिइएको थियो ।
समितिले प्रतिवेदन दिएलगत्तै न्याय परिषद्ले कारबाहीसम्बन्धी निर्णय गर्नेछ ।
उनले दिएको राजिनामा बारेमा केही निर्णय भइनसकेको र छिट्टै बस्ने न्यायपरिषद बैठकपछि त्यसवारे निर्णय हुने सर्वोच्च स्रोतले जनाएको छ ।




















