काठमाडौं । राजधानीका विभिन्न ठाउँमा नक्कली मदिरा बनाउने कारखाना भेटिएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा वरामद गरेको छ भने नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न गिरोहका ९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट पक्राउ पर्नेहरुमा रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ रहेका छन् ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा ९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेका थिए ।
नक्कली मदिरा बेच्न गिरोहले राजस्वको स्टिकरसमेत नक्कली नै टाँसेर बजारमा लैजाने गरेको पाइएको छ।
प्रहरीका अनुसार गोल्डेन वाक, रुस्लान, खुकुरी रम, सिग्नेचर, डबल ब्ल्याक र ब्ल्याल लेबलसहितका विभिन्न ब्रान्डका नक्कली मदिरा बरामद भएका हुन् ।




















