काठमाडौं । मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।
मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भए÷नभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ ।
पुराना लाइनबाट लामो समय पानी वितरण नहुँदा माटो जमेकोले प्रारम्भिक चरणमा पानी धमिलो आउने समस्या देखिएको छ भने केही ठाउँमा वितरण प्रणाली कमजोर हुँदा चुहावट भइरहेको छ । मेलम्ची खानेपानी विकास समितिले यसको समाधान गर्ने जनाएको छ ।
यही माघ १ गतेदेखि काठमाडौँमा पुनः वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुद्ध भएको खानेपानी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार साँझ अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो ।
खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई अपिल समेत गरेको छ ।




















