काठमाडौँ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कोशी प्रदेशले दिएको १६७ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
पुलिसको जितमा अर्जुन साउदले अविजित ६२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले ३१, सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको कोशी प्रदेशले सुजन थपलियाको १०५ रनको शतकीय पारीसँगै ४८.२ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो ।
यो जितपछि पुलिस २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेसले भने लगातार तेस्रो हार बेहोरेको छ ।
अब नेपाल पुलिस क्लबले अर्को खेल आगामी आइतबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले विहिबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।