काठमाडौँ । आज बिहान त्रिशूली नदीमा गाडी खसेको आशंका भएसँगै खोताखोरको टोली खोजीमा खटेको थियो । नदीभित्र डुबेको अवस्थामा इन्डियन नम्बर प्लेटको बोलेरो गाडी गोताखोरको टोलीले फेला पारेपनि यात्रु भेटिएका छैनन् ।
गाडीसँगै यात्रु पनि नदीमा डुबेको आशंका गरिए पनि त्यसमा कति यात्रु सवार थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार चितवनको मुग्लिन नजिकबाट त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको थियो ।
प्रहरीका अनुसार एक जना बस चालकले पनि त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको मुग्लिन प्रहरीलाई जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल आर्मीको जनशक्ति खोजी कार्यमा जुटेको थियो ।




















