
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले शुक्रवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको हो ।
सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ भने सरकारले सार्वजनिक विदा पनि दिएको छ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना गरिएको हो ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।





















