काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ ।
बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।
पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
यसैबीच अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेले आफैले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् । उनले क्यानलाई पत्राचार गर्दै कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका थिए ।
क्यानले सन्दीपको विषयमा निर्णय लिन उनको सजाय निर्धारणको प्रतीक्षा गरेको थियो । तर, क्यानले निर्णय लिनुअघि सन्दीप आफैंले नखेल्ने पत्र क्यानलाई पठाएका थिए । उच्च अदालतमा पुनरावेदन गरेर सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने मनस्थितिमा उनी रहेको बताइएको छ ।