काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन् ।
ब्युरोले बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मंगलबार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो ।
ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ । बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।
बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन् । बम्जन चढ्ने गरेको प्रदेश-३-०१ -०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ ।
यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ । उक्त गाडी ललितपुर-२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ ।
उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ। उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ ।
बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्। बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ ।
बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । टोली पुग्दा उनी भाग्न खोजेका थिए । बम्जन चार तले घरको चौथो तलाबाट खाली जमिनमा हाम्फालेका थिए । प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो ।




















