काठमाडौं । मंगलबार पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भइरहेको छ ।
अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनलाई ब्यूरोले मंगलबार साँझ बूढानीलकण्ठको हात्तिगौंडास्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।
जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् ।
गढीमाई मेलामा आफूले बली रोक्ने भन्दै त्यसबेला बम्जनले उद्घोष गरेका थिए । यद्यपि, त्यसको केही समयपछि उनी एक महिनासम्म हराएका थिए ।
यो मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले बुधबार त्यहाँ उपस्थित गराएपछि अन्यत्रका मुद्दाबारे पनि अध्ययन गर्ने सीआईबीका एक अधिकृतले बताएका छन् ।
बम्जनमाथि बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान थियो ।
सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, उनलाई फेला पार्न सकेको थिएन ।
मंगलबार पक्राउ परेका बम्जनको घरबाट विभिन्न १६ मुलुकका मुद्रा समेत गरी कम्तिमा ३ करोड ३४ लाख वरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बम्जनको घरबाट २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको बताइएको छ । बम्जन हात्तिगौंडास्थित घरमा श्रीमती र छोराछोरीसहित बसेका थिए ।
यसैबीच बम्जनका समर्थकहरु केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय नजिक भेला भएका छन् । बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका सयौं अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् । प्रहरीले उनीहरुलाई सीआईबी आसपासबाट हटाएको छ ।
अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ । सो स्थानमा प्रहरी वृत्त प्रहरी महाराजगञ्जको टोली पनि परिचालित छ ।
बम्जनका बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने जनाएको छ ।




















