विराटनगर । कोशी प्रदेशसभाको सभामुखका लागि आज निर्वाचन हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।
उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताएकी छिन् ।
सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति गरेका छन् भने गठवन्धन भन्दा बाहिरबाट जो उम्मेदवार हुन्छ उसलाई एमालेले पनि सहयोग गर्ने भएको छ ।
राप्रपा संसदीय दलको बैठकले सभामुख लिने र झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठवन्धनले राप्रपालाई सहयोग गर्ने र एमालेले पनि समर्थन गर्ने भएकाले सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने देखिएको छ ।
सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ ।
एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।

























