काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ ।
न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएकाे छ ।
अहिले नेपाल प्रहरीमा प्रहरी उपरीक्षक रिक्त संख्या सात जना हो तर यो बढुवामा १२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू प्रतिस्पर्धामा छन् । उनीहरू सबै बढुवाका हकदार भएकाले कसलाई समेट्ने र नसमेटनेमा प्रहरी महानिरीक्षक वसन्त कुँवर अन्योल र दबाबमा रहेको बुझिएको छ ।
स्राेतका अनुसार प्रहरी महानिरीक्षक कुँवर राजनीतिक दबाबमा रहेको बुझिएको छ । किनभने, साधारणतयाः प्रहरी उपरीक्षक पदको बढुवा महानिरीक्षक कुवँरको तजबिजी अधिकारभित्र पर्छ तर कुँवर राजनीतिक शक्तिकेन्द्रको ‘सिग्नल’ खोजिरहेकाे उनी निकटहरूले बताएका छन । जसका कारण राजनीतिक दबाबबीच उनले प्रहरी उपरीक्षकको बढुवा गर्न सकेका छैनन्।
प्रहरी उपरीक्षक बढुवामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डिएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे पनि बढुवाका प्रतिस्पर्धी हुन् ।
जसमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपिएसओ हुन्। अहिले १२ नम्बरमा रहेका डिएसपी घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन् । जाे यसअघि भएको बढुवामा छुटेका अधिकृतसमेत हुन् ।
उता, राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष ओलीका पूर्वपिएसओ हुन् । उनीहरू राजनीतिक वृत्तमा दबाब बढाउन सक्ने क्षमता राख्ने अधिकृत भनेर चिनिन्छन् । लिम्बू ८ र तामाङ ९ नम्बरमा भए पनि बढुवाको प्राथमिक सूचीमा भने परेकाे जनाइएकाे छ । यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बू ‘प्रधानमन्त्रीको पिएसओ बसेको ट्याग’ लागेका कारण छुटेकाे प्रहरी बृतमा चर्चा परिचर्चा रहेकाे छ ।
मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भए पनि प्रहरी महानिरीक्षक कुँवरले पुस कटन लागिसक्दा पनि निर्णय लिन सकिरहेका छैनन । उनी निर्णय नै नगरी गत मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका थिए । जसका कारण उनी नफर्किकन बढुवा प्रक्रिया अघि नबढ्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको थियो ।
तर, कुँवर फर्किएको एक महिना बितेको छ। यसबीच बढुवा निस्किन सकेको छैन ।




















