जनकपुरधाम । सर्लाहीको बरहथवामा आज पुनः तनाव बढेको छ । शुक्रबार एक जनाको मृत्यु भएको विषयामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको प्रहरीले जनाएको छ ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।
आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन् । आइतबार बिहानैदेखि शव उठाउने विषयमा आन्दोलनरत तथा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको थियो । छलफल भइरहेकै बेलामा बाहिरबाट प्रदर्शनकारीले ढुंगामुढा गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ ।
शुक्रबार साँझ साहको मृत्युपछिको तनावपूर्ण अवस्थामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । शनिबार पनि दिनभर घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएकामा आइतबार विहान ८ बजेदेखि खुला गरिएको थियो ।
प्रदर्शनकारीलाई लखेट्न प्रहरीले ८ सेल अश्रुग्यास हानेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र सिंह थारुले जानकारी दिएका छन् ।
बरहथवामा फेरि कर्फ्यू
सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ ।

























