काठमाडौँ । सर्लाहीको बरहथवामा तीन दिनअघि प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव घटनास्थलमै छ । बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ।
बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी ५० शैय्याको बनाएर मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित कांग्रेसको नेतृत्वमा भएको आन्दोलनको क्रममा शुक्रबार दिउँसो गोली चल्दा साहको मृत्यु भएको थियो भने प्रहरीसहित १० जना घाइते भएका थिए ।
आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन मानेका छैनन् । पीडित र आन्दोलनरत पक्षसँग छलफल भइरहेको उनले बताएका छन् ।
बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैय्यामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने माग गरेको छ ।
आन्दोलन हिंसात्मक झडपमा परिणत भएपछि सरकारले शुक्रबार र शनिबार बरहथवा बजार क्षेत्रमा कफ्यु र निषेधाज्ञा लगाएको थियो । अवस्था सामान्य बन्दै गएपछि आइतबार बिहानदेखि भने निषेधाज्ञा हटाइएको सीडीओ धमलाले बताएका छन् ।
सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरिसकेको छ। त्यसैगरी घटनाको छानविनको लागि सात दिनको समय सीमा दिएर गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति पनि गठन गरेको छ।

























