काठमार्डाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्ने बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले छिटै ६ लाख कार्ड आउने टुङ्गो लागेकाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिटै अघि बढ्ने बताएका छन् । कार्ड आएपछि दैनिक तीन हजार कार्ड छपाई हुने उनको भनाइ छ ।
त्यस्तै मन्त्री ज्वालाले १६ लाख कार्डका लागि टेन्डर गरिएको भन्दै तीन चार महिनामा टुङ्गो लाग्ने बताएका छन् । उनले मुलुकका सडकहरुलाई धुलोरहित बनाउने तयारी भइरहेको बताएका छन । सुरुङमार्ग, द्रुतमार्ग लगाएतका राजमार्गहरुको निर्माणको कामले तीव्रता पाएको र सरकारको हस्तक्षेपले नै सकारात्मक नजिता देखिन थालेको उनले दावी गरेका छन् । उनले समयमा नै काम नगर्नेहरुमाथि कारवाही गरि ठेक्का तोड्नेसम्मको काम भएको बताएका छन् ।
उनले सार्वजनिक सवारीको बैज्ञानिक भाडादर लागू भएपनि तेलको मूल्यसंगमात्रै सम्बन्धीत देखिएकाले सवारीको पाटपूर्जाका आधारमा बैज्ञानिक भाडादर पुनरावलोकन गर्न लागेको धारणा राखेका छन् । मन्त्री ज्वालाले सवारी क्षेत्रको बीमाको समस्या पनि समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

























