स्वयंवर (बरमाला) को चलन एउटा हिन्दू परम्परा हो, जसमा कन्या स्वयंले आफ्नो पती वर चुन्ने गर्दथिन् अनी त्यसैका साथ उसको विवाह हुने गर्दथ्यो ।
दमयन्तीको स्वयंवरको दृष्यको चित्रण यो कुराको प्रमाण छ कि वैदिक कालमा यो प्रथा समाजको चारवटै वर्णमा प्रचलित विवाहको प्रारूप थियो । रामायण र महाभारत कालमा पनि यो प्रथा राजन्य उच्च वर्गमा प्रचलित थियो । तर, यसको स्वरूप केही यस प्रकारले संकुचित भएको थियो । राजन्य अर्थात राज परिवारसँग आवद्ध कन्या पति चुन्ने काम स्वयंवरमा गर्थिन तर समाजद्वारा मान्यता प्रदान गर्नको निमित्त । कन्यालाई आफ्नो लागि स्वयं पति छान्ने स्वतंत्रता थिएन ।
बुबाको शर्त अनुसार पूर्ण योग्यता प्राप्त व्यक्ति नै चुनिन सकिन्थ्यो । पूर्वमध्यकालमा पनि यही प्रथा प्रचलित रहेको प्रमाणहरू पाईन्छ, जून संयोगिताको स्वयंवरमा स्पष्ट देख्न सकिन्छ। दुई शब्दको जोड़ हो– स्वयं र वर। यसको आशय हो, वधू स्वयंले आफ्नो वर चुन्ने । प्राचीनकालमा भारतमा यहि प्रथा थियो । जस अन्तर्गत कन्यालाई यो अधिकार थियो कि उ आफ्नो अनुकूल वरको चयन स्वयं गरुन ।
पार्वतीद्वारा भगवान शिवको चयन, सीताको स्वयंवर र द्रोपदीको अर्जुनसँग विवाह यसै परम्पराको उदाहरण हो । श्रीराम र श्रीकृष्ण युगमा यसै प्रथाको साथ वरको शौर्य प्रदर्शन पनि जुडेको थियो । रामले जनकको दरबारमा भगवान शंकरको धनुष उठाएपछि सीता र अर्जुनले माछाको आँखामा बाणले भेदन गरे पछी द्रोपदी पाएका थिए ।
पछिल्लो समय सहरी क्षेत्रमा हुने बिवाहमा केटा वा केटी पक्षको माग अनुसार स्वयंवरको स्वरुप बर मालाको आयोजन हुँदै आएको थियो । सम्पन्न परिवारको केटा केटीको प्रायः होटल अथवा पार्टीे पैलेसमा हुने बिवाहमा बर मालाको आयोजन हुन्थ्यो। बरमालाको प्रकृया पुरा भएपछी बेहुला बेहुली दुबैपक्षका आफन्तहरूले पालैपालो बर कन्यालाई आशिबाद दिन्थे। बर कन्याको साथ तस्वीर खिचाउथे र अन्तमा शुभ साईत स्वरुप आफ्नो गच्छे अनुसार बर वधुको हातमा नगद दिएर हिँड्ने गर्दथे ।
ग्रामीण भेगका आम मानिस बर माला लाई खर्चिलो बिवाह तथा एउटा देखावाको रुपमा हेर्ने गरेका थिए । विगत एकदशक यता बर माला सहर देखि गाउँसम्म एउटा फेसन बनेको छ । होटल पार्टी पेलेसमा होस की घरमा बिवाह होस बर माला हुनैपर्ने । होटल पार्टी पैलेसमा बर मालाको लागि छुट्टै व्यवस्था हुन्छ।
घरबाट हुने बिहेमा छुट्टै व्यवस्था नभए पनि जन्ती बस्ने पण्डालमै बर बेहुला बसिरहेका हुन्छन । बेहुली आफ्नो साथीहरुको साथमा आउँछिन्, एक अर्कालाई माला लगाएर बर मालाको बिधि पुरा गर्दछन । यहाँ पनि दुबै पक्षका आफन्तहरु पालैपालो बर कन्यालाई आशिर्बाद दिने, तस्विर खिचाउने र अन्तमा बर कन्याका साथै कन्याको साथीलाई पनि हातमा नगद दिएर हिँड्ने गर्दथे । यस क्रममा खास गरेर बेहुलाका साथीहरु निकै हौसिन्थे, बर कन्याको साथमा विभिन्न पोजमा तस्वीर समेत खिचेर उनीहरू रमाउने गर्दथे । सानो समय भित्र बरमाला एउटा परम्परा नै बनेको थियो ।
यसरी हुने बर मालाको बिधिमा बढीमा ३० देखि ४५ मिनट लाग्ने गरेको थियो । र सहज रुपमा पूरा हुँदै आएको थियो । बर मालाको यस विधिलाई पनि आम मानिसले सहज रुपमा लिने गरेका थिए । खासगरेर बरमाला शिक्षित तथा सम्पन्न बर्गमा प्रायः देख्न पाइन्थ्यो ।
तर विगत केही वर्षदेखि बर मालाको बिधि अब परम्परा, देखावा र फेसन नभएर बिना लगानि हजारौँ रुपैया कमाउने एउटा ठगीको जस्तो ब्यापार बनेको छ । कतै कतै बेहुला बेहुली दुबै पक्षका केही टाठाबाठा मिलेर आफन्त, साथी, चिनेका राम्रा भद्र मानिसहरूलाई आशीर्वादको नाउँमा जबरदस्ती हजारौँ हजार रुपैयाँ असुली गर्ने माध्यम बनेको छ । नैतिकता नभएका तथा समाजको वास्ता नगरी मात्र नाफाको सोंच राख्ने केही दरिद्र मानसिकतामा मानिसहरू बेहुला बेहुली दुबै पक्षका आफन्तहरुको नाम, दुवैजनाको बुबाको साथी, दाजुको साथी, जन्ती गएका भद्र मानिसको नामको पहिलै देखि लिस्ट तयार पारेर राखेका हुन्छन् ।
त्यसबेला सुरु हुन्छ नियोजित व्यापार तथा ठगी धन्दा । एकजना टाठाले माईक हातमा लिन्छन र लिस्ट अनूसार नाम बोलेर बरमालामा सहभागी हुन स्टेजमा बोलाउन सुरू गर्छन । उद्घोषकले पुरै बढाई चढाई गरेर नाम टोक्दै स्टेजमा बोलाउने गर्दछन् । यसरी पटकपटक नाम तोकेर माईकले बोलाए पछि भद्र मान्छे जान बाध्य हुन्छन । स्टेजमा गए पछि उनि एकछिन विचार गर्छन्, उनी भन्दा अगाडी गएकाहरुले कति कति रुपैया बेहुला बेहुलीको हातमा दिएका थिए, त्यसै अनुसार आफ्नो सामाजिक प्रतिष्ठा अनुसार न चाहेर पनि दिनुपर्ने बाध्यता हुन्छ ।
पैसाकै कारण बरवधुलाई आशिर्बाद दिने यो क्रम घण्टौं चल्छ । आशिर्बाद दिन आउने मानिसलाई निहुरेर ढोग्दा ढोग्दैसँगै तस्विर खिचाउँदा खिचाउँदै बेहुला बेहुलीको हालत खराब हुन्छ । त्यसैगरी बस्दा बस्दा बोर हुन्छन जन्तीहरु । तर योजनामा लागेकाहरु मान्दैनन्, जबसम्म उनको लिस्ट सकिँदैन ।
केहि महिना अगाडी एकजना साथीलाई भेट्न म एउटा गाउँमा गएको थिए । साथी भेट हुँदा बसेर भलाकुसारी भरहेको थियो, साथमा गाउँका एकदुई जना अन्य मानिस पनि बसेका थिए । सोही क्रममा अर्का एकजना गाउँले त्यही आएर बस्यो, उनले पहिलै देखि बसेका एकजना गाउँलेलाई सोधे, ‘दाई आज त तपाईँको साढु भाईको छोराको बिहे होइन किन जन्ती नजाने हो की क्याहो ?’
यो प्रश्न आए पछी गाउँले एकछिन चिन्तित मुद्रामा भएर जवाफ दिए, ‘भाई लुगा कपडा धुलाएर पूरै जाने तयारीमा थिएँ । तर अन्तिममा एउटा कुराले मलाई रोकी दियो ,मेरो दुईजना साढुहरू अलि हुनेखाने परिवारका छन । म मध्यम बर्गिय परिवारको । जन्ती जाँदा बर मालामा कहीँ उनीहरूले दुईहजार दरले बेहुला बेहुलीको हालत पैसा दियो भने आफू जेठो भएको कारण कम्तिमा जनही २५ सय दिनुपर्छ । केहीदिन अघि धानखेतमा हाल्न मलखाद र औषधी खरीद गरेको थिए । हात खाली छ, त्यसैले म आफनो सट्टा छोरालाई जन्ती पठाएको छु’ उनले भने ।
छोरा बेहुला भन्दा सानो छ, उसलाई त्यो समस्या पर्दैन् । अर्थात बर मालाको नाउँमा जबर्जस्ती असुलीको कारण एकजना आफन्त बिहेको अवसरमा चाहेर पनि जान पाएनन । यो त एउटा उदाहरण मात्र हो, नजिकिएर हेर्ने हो भने तराई मधेशमा बर मालाको परम्परा एउटा ठूलो बिकृतिको रुप लिएको छ । कैयौं मानिस यसैको कारण नजिकका मानिसको घर परिवारमा बिहेमा स्वयं नगएर सानो उमेरका छोरालाई पठाएर झारो टारिरहेका छन ।
गलत मानसिकता केही मानिसको कारण बरमालाको परम्परागत चलन बदनाम भैरहेको छ ।
तराई मधेशको गाउँ समाजमा हुने गरेको बिहे तथा बर मालाको अवसरमा बरबधूलाई आशिर्बाद दिने उनका आफन्त तथा हितैषी मानिस स्वयं बोलेर उठेर जान्छन । आफ्नो गच्छे अनुसारको दक्षिणा पनि दिन्छन । तर जबजस्ती कसैको ईज्जत दाउमा राखेर बरमालाको नाउँमा पैसा असुलेर परम्परालाई नै बदनाम गर्ने काम अविलम्ब बन्द हुनू पर्दछ ।