काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार रुपन्देहीको भैरहवा पुगेर नागरिकलाई सम्वोधन गरेका छन् । भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सम्वोधन गरेका छन् । उनले भनेका छन् ‘नेपाल बुद्ध जन्मेको देश, सगरमाथाको देश, सनातनी वैदिक संस्कृति, विविध धर्म र सभ्यताको देश, अनि अनेक स्रोतसाधन, सम्पदाले भरिपूर्ण समृद्धशाली देश । यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौँ, कताकता आफैँ हारिरहेका छौँ ।’
अहिलेको राजनीतिक व्यवस्थाप्रति जनतामा वितृष्णा देखिन थालेको वताउँदै उनले भने ‘म जता जाऊँ, जहाँ पुगौं जनआवाज उठेको सुन्छु। मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ, देशको सभ्यता र समृद्धि बढाऊ, यहाँ खडा भएर म भन्दछु, म बोलिरहेछु, बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु, म कतै अन्त गएको छैन। सदा सदा नेपालीका साथमा छु। नेपालभित्रै छु। नेपालीको सुखदुःख, सुविधा(असुविधा, बाधापीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।’
शाहले समाज, कानुन र व्यवस्थाबिना अस्तित्वमा रहन नसकिने बताउँदै भने ‘देश सुहाउँदो र बलियो आविष्कारमार्फत् अगाडि बढ्नुपर्छ। तर आज देश जर्जर भएको छ । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौँ युवा जनशक्ति विदेशिएको छ देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो। यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ।’
सम्बोधनका क्रममा उनले देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय उत्साह प्रतिभाको महान् निवास हो। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ।’
नेपालको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत् प्रकृयामा शाहवंशबाट सम्भव भएको दावी गर्दै उनले भने “हाम्रा बूढापाका, अनुभवीहरूको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमा खिया लाग्दै गइरहेको छ। हामी झन् परावलम्बी र परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौं। हाम्रो विचारमा हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ। हामी चिसो बहानामा बाँचिरहेका छौँ। नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँबायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ।’
उनले सम्बोधनको अन्त्यमा सुनाएको कविता –
विगतको सबै दुःख बिर्सिदेऊ मायाले मायालाई भरिदेऊ
घृणाको आगोलाई कर्त जलाइदेऊ
पहिले यो आगोलाई मिलेर निभाइदेऊ
भाग्यको सीमा हँदैन, हुनु पनि हुँदैन, अब भाँचिएको टुक्राहरू जोडिदेऊ
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने, पहिले अन्याय अत्याचार मुक्त गरिदेऊ
अनुहार फेरिफेरि षड्यन्त्र नगर
त्यस्ताको चालबाट आफूलाई बचाइदेऊ


















