रौतहट । रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ को मुटु जिल्लाको चर्चित बजार कटहरीयामा ७० वर्ष अघि स्थापना भएको प्रहरी कार्यालयको हालसम्म पनि भवन निर्माण र स्तारोन्ती हुन नसकेको छैन ।
देशमा प्रजातन्त्र स्थापना अर्थात २०४६ साल पछि आधा दर्जन नेताहरुले क्षेत्रको नेतृत्व गरे तर प्रहरी कार्यालयको भवन निर्माण र स्तरोन्नतिप्रति कसैको ध्यान गएको देखिएन ।
नेपाली कांग्रेसका स्वर्गिय हरिहर प्रसाद यादव दुईपटक, एकपटक स्वतन्त्र दोस्रोपटक जनता समाजबादीबाट गोविन्द चौधरी दुई पटक , एमालेबाट डा. वंशीधर मिश्रा एकपटक, कांग्रेसबाट सुनिल यादव जितेन्द्र एकपटक र पहिलो पटक माओबादी केन्द्र र दोस्रोपटक स्वतन्त्र बाट संघीय सांसदमा विजयी भएर प्रभु साहले उक्त क्षेत्रको नेतृत्व गरेका छन। तर क्षेत्रबासिको प्रत्यक्ष सुरक्षा संग जोडीएको प्रहरी कार्यालय कटहरियाको भवन निर्माण तथा स्तरोन्नतिको लागि कसैले ध्यान दिएको देखिएको छैन ।
२०७४ सालको स्थानिय निर्वाचनमा कटहरीया नगरपालिकामा सीयाराम कुशवाहा, प्रदेश ख मा कुन्दन कुशवाहा र संघमा प्रभु साह निर्वाचित भएका थिए । निर्वाचन पछि मेयर कुशवाहा र प्रदेश सांसद कुशवाहाले सामान्य पहल गरेका थिए भने पूर्व मन्त्री प्रभु साहले हाल ग श्रेणीमा रहेको ईलाका प्रहरी कार्यालय कटहरीयाको स्तरोन्नति तथा भवन निर्माणको लागि सार्वजनिक कार्यक्रममै प्रतिबद्धता जनाएका थिए । उनको अवधिमा क्षेत्र ३ अन्तर्गत विकासको लहर नै चलेको थियो तर प्रहरी कार्यालयको समस्या भने समस्या ज्युँ का त्यूँ रहेको छ ।
अहिले पनि ईलाका प्रहरी कार्यालय कटहरीयामा ठाडो उजुरी लिने बाहेक अधिकार छैन। कुनै मुद्दा दर्ता गर्न अथवा कुनै कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा अथवा जिल्ला प्रहरी कार्यालय गौर जानुपर्ने कटहरीयाबासीको लागि बाध्यता बनेको छ । त्यतिमात्र नभई कुनै विषयको ठूलो पञ्चायती छलफल गर्न पनि गरुडा अथवा गौर जानुपर्दा महत्वपूर्ण समय र पैसा खर्चिनु पर्ने वाध्यता रहेको कटहरिया ५ का समाजसेवी जयमङल साहले गुनासो गरेका छन ।
ईप्रका कटहरीयामा सईको कमाण्डमा १६ जनाको दरबन्दी रहेकोमा हाल मात्र ९ जना कार्यरत रहेको सई अशोक महतोले बताएका छन । जनशक्ति अभावको कारण दैनिक गस्ती, बजार सुरक्षा लगाएत जनताको ज्यान धनको सुरक्षा दिन कठिनाई हुने गरेको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमूख एसपी महेन्द्रकुमार श्रेष्ठले प्रहरी कार्यालयको नाउँमा जग्गा नभएको कारण ईलाका प्रहरी कार्यालय कटहरियाको स्तरोन्नति नभई भवनसमेत निर्माण हुन नसकेको बताएका छन ।
स्थानिय तह अथवा कुनै निकायबाट लगानी गरी ईलाका प्रहरी कटहरियाको नाउँमा जग्गा दर्ता गराउन सकेमा भवन निर्माणको लागि सरकारले लगानी गर्ने तथा स्तरोन्नतिको बाटो खुल्ने एसपी श्रेष्ठले जानकारी दिएका छन ।
कटहरियामा कहिले भएको थियो प्रहरी कार्यालयको स्थापना ?
विक्रम संवत २००९ सालमा कम्युनिष्ट नेताहरु तुलसीलाल आमात्य, हरिदयाल महतो, विष्णु मानन्धर, खाजान्ची साह,शेख फरमान, महादेव साह, विश्वनाथ महतो लगायतको नेतृत्वमा किसान आन्दोलन चलेको थियो । ‘रे नहीं जी कहो’ भन्ने मूल नाराका साथ हजारौं किसान मजदुरको संलग्नतामा चलेको आन्दोलनमा महाजनहरुले गरिबसँग गरिएको कपाली तमसुक जलाउनेदेखि सामन्तहरूको जुँगा समेत उखेलिएको थियो ।
किसान आन्दोलन उत्कर्षमा पुग्दा राजधानी काठमाडौंबाट तत्कालीन एनएसी कम्पनीबाट हातहतियार सहितको टोली आएर जिल्लाको ठाँउ ठाँउमा परिचालन गएिको थियो । सोही कम्पनीको १५ –२० जनाको टोली कटहरीया आएको थियो । सोही टोली हाल ईलाका प्रहरी कार्यालयको भवन रहेको पूर्व पट्टि छाप्रो बनाएर बसेको एकजना वयोवृद्ध अवकाश प्राप्त सई जंग बहादुर क्षेत्रीले बताएका छन ।
तत्कालीन कलैयाका राम राजाका सुबा द्वारिकानाथको नाउँमा दर्ता रहेको ३ बिगाहा जग्गाको कितामा करिब ९ कठा जग्गा ओगोटर स्थायी प्रहरी पोष्ट बसेको थियो । २०१८ सालमा प्रहरी चौकी कटहरिया कायम भएको थियो ।
२०२१ सालको नापीमा उक्त ९ कठा जग्गामा प्रहरी चौकीको मोही हक कायम भएको उनले बताए । २०२८ सालमा भुसाहा काण्ड हिन्दू मुस्लिम दङ्गा भएपछि सोही किताबाट थप ८ कठा ओगटेर स्थानीयको सहयोगमा भवन निर्माण भएपछि प्रहरी चौकीबाट स्तरोन्नति भएर ईलाका प्रहरी कार्यालय कटहरीया कायम भएको थियो ।
२०२९ साल तत्कालीन प्रहरी संगठन प्रमूख आईजिपी खडागजित बरालले ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय समनपुरको विधिवत उदघाटन गरेका थिए । सो समयमा रौतहटमा कटहरीया, समनपुर, गंगापिपरामा ईलाका प्रहरी तथा गौरमा जिल्ला प्रहरी कार्यालय रहेको अवकाश प्राप्त सई जंगबहादुर क्षेत्रीले जानकारी दिएका छन । ईलाका प्रहरी कार्यालय कटहरीयाले ओगटेको १७ कठा जग्गा मध्ये ८ कठा मोही र बाँकी ९ कठाको जग्गाधनी स्थानिय सन्तलाल साह रहेका छन ।
ईलाका प्रहरी कार्यालय कटहरियाले हाल कटहरीया नगरपालिका पुरै, देवाही गोनाहिका केही र केही वडा गुजाराको समेत सेवा गरिरहेकाले जनताको मार्कालाई मध्यनजर गर्दै भवन निर्माण, स्तरोन्नतिका लागि वर्तमान कटहरियाका मेयर जयप्रकाश जैसवाल, प्रदेश सांसद सुनिल यादव जितेन्द्र तथा संघीय सांसद प्रभु साहले तत्काल पहल गर्नुपर्ने जानकारहरुले माग गरेका छन ।
– सञ्जय मिश्रा
























