हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभर्याङमा आज बिहान मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
हेटौँडाबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पीटी दौडिँदै गरेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारका लागि हेटौँडा अस्पताल पुर्याइए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलसमेत अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौर बस्ने ४१ वर्षिय लक्ष्मण लामाको टाउको र हातमा चोट लागेको छ । उनलाई हेटौँडा अस्पतालबाट नयाँ मेडिकल कलेज चितवन थप उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही घटनामा प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की हातमा चोट लागेको छ भने प्रहरी जवान बिजय खत्रीको खुट्टा र हातमा भित्री चोट रहेको बताइएकोछ । उनीहरु उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















