काठमाडौं । रुस–युक्रेन युद्धमा स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमार्फत आफूले अर्यालको मृत्यु भएको खबर पाएको वडाध्यक्ष कुँवरले जानकारी दिएका छन् ।
करिब दुई महिनाअघि दुबई हुँदै रुस पुगेका अर्यालको २८ डिसेम्बर (१२ पुस)मा मृत्यु भएको बताइएको छ । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
यसैबीच नेपाल प्रहरीका एक जवानलाई रुसी सेनामा भर्ना गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का सहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।
यसअघि खड्काविरुद्ध सेटिङमा भिजिट भिसामा पठाउने गरेको आरोपमा मुद्दा दायर भएको थियो । ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत जाहेरवाला प्रहरी जवानले अध्यागमन कार्यालयमा सेटिङ मिलाउनमात्र एक लाख ४० हजार रूपैयाँ बुझाएको जाहेरीमा उल्लेख थियो ।
असोज १ गते रुस पुगेका जाहेरवाला मंसिर १५ गते नेपाल फर्किएका थिए । जाहेरवालाले युक्रेनको ड्रोन आक्रमणमा परी आफूसहित ८ जना घाइते भएको र स्थानीय एक अस्पतालमा उपचार गरेपछि रुसी सेनाको आँखा छलेर ४ दिन लगाएर मस्को पुगेको उल्लेख गरेका छन् । रुसस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेपछि आफू नेपाल आउन सफल भएको ती युवाको भनाइ छ ।




















