विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लोसारका अवसरमा जारी गरेको शुभकामना सन्देशको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सच्याएर पुनः प्रकाशित गरेका छन् ।
शुभकामना सन्देशमा प्रदेशको नाम नै नराखी जारी गरेपछि उनको आलोचना भएको थियो ।
आज बिहान जारी भएको शुभकामना सन्देशको लेटर हेडमा ‘मुख्यमन्त्री विराटनगर नेपाल’ मात्र उल्लेख थियो । उनले ‘कोशी प्रदेश’ नलेखेपछि पहिचानवादीहरू खुशी भएका थिए । तर वैधानिकरूपमा स्थापित नामलाई मुख्यमन्त्रीले नै अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा कार्कीको चर्को आलोचना गर्दै उनी कुन प्रदेशका मुख्यमन्त्री हुन ? भन्ने प्रश्न उठेपछि पुनः सच्याएका हुन ।
सच्याएको शुभकामना सन्देशको लेटर हेडमा मुख्यमन्त्री, कोशी प्रदेश विराटनगर लेखिएको छ । सचिवालयबाट भूलवस प्रदेशको नाम उल्लेख गर्न छुटाइएको भन्दै कार्कीले यसलाई गम्भीरतापूर्वक नलिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री संविधान र कानूनको पक्षमा रहेको र कानून, संविधानले भनेको बाहेक अरु गर्न नसक्ने कार्कीले स्पष्ट पारेका छन् ।

























