काठमाडौँ । एक किशोरीलाई बलात्कार गरेको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज साँझ सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन् ।
गौशाला २६ नामकी नाबालिग किशोरीलाई काठमाडौँको होटल गौशालामा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो ।
आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै काठमाडौं जिल्ला अदातलका न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप जेल बस्नु पर्ने भएको छ ।
अब अदालतले कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नेछ । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । उक्त सुनुवाइबाट सन्दीपले जेल सजाय भोग्नुपर्ने अवधि तय हुनेछ ।
सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणी आरोप लगाएकी थिइन् । तर सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो ।
२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन् । त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
१८ वर्ष नपुगेकी नाबालिगमाथि करणी गरेको कसूरमा त्यसबेला सन्दीपलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो । गौशाला २६ लाई बालिग ठहर गरेको छ । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश ढकालले सन्दीपलाई दोषी मानेका छन् ।
आफू १७ वर्ष मात्रै भएको दाबीसहित गौशाला २६ नामकी ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन् ।
उनले काठमाडौंबाट नगरकोट लगेर, त्यहाँबाट फर्काएपछि सिनामंगलको होटलमा रातभर राखेर बलात्कार गरेको बयान दिएकी थिइन् ।
प्रहरीले पनि २०७९ भदौ ५ गते राति एक होटलको ३०५ नम्बर कोठामा सन्दीपले बलात्कार गरेको अभियोग पत्र सरकारी वकिलमार्फत दर्ता गराएको थियो । बलात्कार भएको जाहेरी दर्ता गरेपछि प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरेको थियो ।
जाहेरीपछि प्रहरीले सन्दीपलाई वेस्टइन्डिजबाट अमेरिका हुँदै आउने क्रममा प्रहरीले पक्राउ गरेको थियो । जाहेरी पर्दा विदेशमा रहेका सन्दीप २०७९ असोज २० गते नेपाल फर्किएका थिए। उनलाई त्रिभुवन विमानस्थलबाटै हत्कडी लगाए हिरासतमा लिइएको थियो ।
त्यसपछि असोज १८ गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालत पाटनले २०७९ पुस २८ गते धरौटीमा छाड्न आदेश दिएको थियो ।
उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख धरौटीमा छाड्न आदेश दिए पनि विदेश जान प्रतिवन्ध लगाएको थियो । उच्चको आदेशअनुसार उनी २०७९ पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका थिए ।
उच्चको उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए । सन्दीपले धरौटी घटाउन र विदेश जान लागेको प्रतिबन्ध हटाउन माग गरेका थिए ।
पीडित पक्षले भने सन्दीपलाई थुनामै फर्काउन माग गरेको थियो। तर सर्वोच्चले सन्दीलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध सर्तसहित हटाइदिएको थियो ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासले प्रतिबन्ध हटाएसँगै सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका थिए ।
त्यसपछि २०७९ फागुन १५ गते सर्वोच्च अदालतले यो मुद्दा तत्काल टुंग्याउनसमेत जिल्ला अदालतलाई आदेश दिएको थियो। तर सर्वोच्चको आदेशपछि पनि जिल्ला अदालतबाट मुद्दा टुंगिन झण्डै एक वर्ष लाग्यो ।