काठमाडौँ । ईपीएस भाषा परीक्षामा सबैलाई सामेल गराउन उच्च आदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो । यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो ।
उनीहरूले शुक्रबार नै आवेदन दिएका छन् भने आवेदन भर्न नपाएका करिव तीन हजार युवाले आज वालकुमारी, ग्यार्को क्षेत्रमा आन्दोलन गरेका थिए । आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।
मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दा भएको झडपका क्रममा दुई जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । करिब ५०÷६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय समिति बनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरेको हो ।
समितिलाई ७ दिनभित्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।




















