बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले हामीले होस् नपुर्याए अहिले देखिएका हिम शृंखलाहरू नरहन सक्ने बताउनुभएको छ ।
बागलुङमा बुधबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन अनुकूल तथा न्युनीकरणलाई स्थानीय स्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले बागलुङको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सम्भयतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरेर पर्यटन क्षेत्रबाट आयआर्जन गर्न सक्ने प्रचुर सम्भावना रहेको बताउनुभयो ।
उहाँले बागलुङका उद्योगी व्यवसायीहरूले राष्ट्रियस्तरमा समेत अर्थतन्त्रको बागडोर सम्हालेको देख्दा हर्षित भएको बताउँदै आफूलाई प्रख्यात गराउन सकेको धारणा व्यक्त गर्नुभयो । सबैभन्दा धेरै विप्रेषण भित्र्याउने जिल्ला पनि बागलुङ रहेको राष्ट्रपति पौडेलको भनाइ छ।
निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण बनाउन स्थानीय, प्रदेश र संघ सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गर्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।
प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेशनहरू विकास गर्न आवश्यक रहेको बताउँदै सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने पौडेलले बताउनुभयो । राष्ट्रपति पौडेलले स्थानीयहरूको जीवनस्तर सुधार्नको लागि स्थानीयस्तरमा उत्पादन हुने कृषि उत्पादनहरूलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरेमा मात्र सम्भवना हुने बताउनुभयो ।
उहाँले महोत्सवमार्फत् निजी क्षेत्रले यहाँको उत्पादन हुने कृषि उपज र जडीबुटीलाई हाम्रो सामु ल्याएको हुँदा प्रदेश सरकारले यसको विकासमा उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।