काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीका कारण संस्था विघटनको संघारमा पुगेको छ । भण्डारीले कार्यसमितिलाई वेवास्ता गर्दै एकलौटी ढंगले हिसानमा कब्जा जमाएका छन् । संस्थागत रुपमा चल्नु पर्ने हिसान आज भण्डारीका कारण वद्नाम र विघटनको संघारमा पुगको उनकै सहकर्मीहरु बताउँछन् ।
भण्डारीले नै पूर्वअध्यक्ष उमेश श्रेष्ठलाई अपमानढंगले निकालेको र अहिलेका अध्यक्ष रमेश सिलवाल पनि उनका अगाडि निरीह जस्तै बनेको सदस्यहरुको गुनासो छ । भण्डारीले संगठनको काम र आर्थिक अपारदर्शिताका कारण बद्नाम हुँदै गएको जानकारहरु बताउँछन् । भण्डारीले संचालन गरेको जेभियर इन्टरनेशनल कलेजका संस्थापक नवराज सुवेदीलाई धाकधम्की र गुण्डा लगाएर राजनीतिका आडमा कलेज हडपेको आरोप पनि छ । नवराज सुवेदी हाल जापान पलायन भएका छन् ।
भण्डारीकै कारण अहिले हिसानले बोलाएको वैठकहरुमा निजी स्कुल÷कलेज संचालकहरुका छाता संगठन जस्तै प्याव्सन, एनप्याव्सन र अन्य संस्थाहरु आउन छाडेका छन् । यहि अवस्था रहे हिसान नाम मात्रको संस्था हुनेमा कुनै दुईमत नभएको सदस्यहरुले स्वीकार गरेका छन् ।
भण्डारीलाई लगाम लगाउन नसक्नुमा अध्यक्ष सिलवाल पनि जिम्मेवार रहेको जानकारहरु बताउँछन् । संगठनको गरिमा र सदस्यहरुको भावना विपरित नियम, कानून, विधानको वर्खिलाप हुने काम गर्न मै महासचिव भण्डारी तल्लित रहेका छन् ।
भण्डारीको अड्डा भनेको एभरेष्ट होटल वानेश्वर र तिब्बत होटल जोरपाटी रहेको छ । उनले त्यहाँ आफन्त, नेता, कार्यकर्तालाई बसाउने, खुवाउने, उनीहरुको वर्थडे, एनिभर्सरी मनाइदिने काम पनि तिनै होटलहरुमा गर्ने गरेको र त्यसको विल चाहिँ हिसानमा ल्याएर मिलाउने गरेको एक कर्मचारीले मार्गदर्शनलाई बताएका छन् ।

भण्डारीको स्रोत नखुलेको सम्पत्ति
२०७० सालमा बैंकको ऋण तिर्न नसकेर बैंक नै कलेजमा काउन्टर खोलेर बसेको इतिहास छ । तर १० वर्षभित्र ग्वार्कोमा ४० रोपनी जग्गा, कीर्तिपुरमा २० रोपनी जग्गा, इमाडोलमा १६ रोपनी जग्गा जोडेका छन् । अन्यत्र पनि यस्तो सम्पत्ति धेरै छ । यत्रो सम्पत्ति कसरी जोडे, यो रहस्यको विषय बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यसमा अख्तियार र सम्पत्ति शुद्धिकरणले छानविन गर्नुपर्ने उनीहरु बताउँछन् ।
भण्डारीले स्कुलमा डीआई मार्फत विद्यार्थीहरुलाई आतंकित पार्ने गरेका छन् भने छात्रवृत्ति नदिने, अनेकौ शिर्षकमा विद्यार्थीबाट धेरै रकम असुल्ने गरेका छन् । जस्तै ६५०० को ड्रेसलाई १८००० लिने गरेका भने खाना स्कुलमै खानुपर्ने अनिवार्य गरेर मासिक १६००० तिराउने गरेको अभिभावकहरुको गुनासो छ ।
किताव, कापी अन्य स्टेशनरीमा त अभिभावकको ढाड सेक्ने काम भएको छ । स्कुलले यति मनपरी गर्दा पनि कुनै पनि सरोकारवाला निकायले ध्यान नदिनु आश्चर्यजनक भएको एक अभिभावकले बताएका छन् । भण्डारीले आफ्नो स्कुल/कलेजमा शिक्षक, कर्मचारीहरुलाई श्रम शोषण गरेको गुनासोहरु पनि आइरहेका छन् । श्रम ऐनविपरित १४ घण्टासम्म काम लगाउने गरेको कलेजका एक कर्मचारीले बताएका छन् ।
भण्डारीका कारण वद्नाम स्काउट
चार वर्षे कार्यकाल सकिएपछि पनि अध्यक्ष नछोडेका भण्डारीकै कारण नेपाल स्काउट पनि वद्नाम भएको छ । सामाजिक सेवा र अनुशासन सिकाउने संस्थाका अध्यक्ष भण्डारीले स्काउटका नाममा विदेशमा मान्छे लगेर छोड्नेदेखि स्काउटको खर्चमा आफन्त, परिवारलाई विदेश घुमाउने गरेको स्रोतले बताएको छ ।

खेलाडी, विज्ञ पत्रकारहरुको कोटामा अन्य आफ्ना अनुकुलका मान्छेहरु घुमाउने गरेको तथ्य पनि सार्वजनिक भएको छ । स्काउटको आवासीय भवन ककनीमा भोज भतेर र मनोरञ्जनको स्थल बनाएका छन् । अहिले स्काउटको वेरुजु बढेर गएकाले भण्डारीलाई जतिसक्दो चाडो त्यहाँबाट विदा गर्नुपर्ने माग उठिरहेको छ ।
भण्डारीको कार्यकाल सकिएपछि नयाँ निर्वाचनका लागि जिम्मेवारी पनि दिइएको थियो । तर यो अवधिमा न नयाँ निर्वाचन भयो न त भण्डारीले नै आफ्नो कानुनले तोकेको समय समाप्त भयो भनी पद नै त्याग गरे । सर्वोच्च अदालतले २०७८ मंसिर २१ गते दिएको अन्तरिम आदेश देखाएर उनी पदमा टाँसिरहेका छन् ।




















