काठमाडौँ । बारा प्रहरीले भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई गएराति बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
सार्प सुटरको रुपमा चिनिएका सुजितकुमार सिंहको समूह नेपाल प्रवेश गरेको सूचना प्राप्त भएपछि सम्भावित घटना हुन नदिन उनीहरुको निगरानी गरिएको प्रहरी टोलीले मंगलबार राति ८ बजे विश्रामपुर गाउँपालिका–३ मा भेटेको थियो । चार जनाको संख्यामा रहेका उनीहरु मध्येका मुख्य नाइके सिंहलाई पक्राउ गरिएको र अरु तीन जना फरार भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिइएको डीएसपी न्यौपानले बताएका छन् । खुट्टासहित शरीरका विभिन्न भागमा गोली लागेका उनलाई राति नै उपचारको लागि कलैया अस्पतालमा भर्ना गरिएको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
उनका साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसमेत बरामद गरेको छ । उनीमाथि बारा र रौतहटमा भएका हत्या घटनाका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ ।
गएको कात्तिक दोस्रो साता कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा पनि सिंहकै समूह संलग्न भएको प्रहरीको दावी छ ।
गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।प्रिन्सिपल स्वर्णाकारको हत्या आरोपमा यसअघि पक्राउ परेका बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् ।

























