काठमाडौँ । अफगानिस्तान क्रिकेट बोर्ड र खेलाडीबीच नयाँ विवाद सिर्जना भएको छ । राष्ट्रिय टिमका तीन खेलाडी मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीलाई राष्ट्रिय सम्झौताबाट रिलिज गर्ने अनुरोध बोर्डले अस्वीकार गरेपछि यो विवाद सतहमा आएको हो ।
यसका साथै बोर्डले यी तीन खेलाडीलाई अनुशासनात्मक कारबाही गरेको छ र यी तीन खेलाडीको केन्द्रीय सम्झौता पनि रोकेको छ । यससँगै यी खेलाडीलाई आगामी दुई वर्षसम्म एनओसी नदिने निर्णय पनि भएको मिडिया रिपोर्टमा उल्लेख छ । जसमा कुनै पनि विद्यमान एनओसी रद्द गर्ने पनि समावेश छ ।
मुजीब उर रहमान, नवीन उल हक, फजल फारुकीले अफगानिस्तान क्रिकेट बोर्डलाई विश्वभरका क्रिकेट लिग खेल्नको लागि राष्ट्रिय केन्द्रीय सम्झौताबाट रिलिज गर्न अनुरोध गरेका थिए । तीनै खेलाडीले आफ्नो निर्णय बोर्डलाई जानकारी गराएका थिए । जनवरी १, २०२४ देखि सुरु हुने केन्द्रीय सम्झौताबाट आफूहरुलाई रिलिज गर्ने इच्छा व्यक्त गरेका थिए र राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनका लागि आफ्नो सहमतिलाई विचार गर्न अनुरोध गरेका थिए ।
यी तीन खेलाडीले राष्ट्रिय टोलीलाई महत्व दिनुको सट्टा लिग प्रतियोगितामा खेल्न प्राथमिकता दिएको बोर्डको आरोप छ । अफगानिस्तान क्रिकेट बोर्डले आधिकारिक विज्ञप्ति जारी गर्दै तीन खेलाडीको केन्द्रीय सम्झौता रोकिने जनाएको छ । बोर्डबाट जारी विज्ञप्तिमा यी तीन खेलाडीले अफगानिस्तानबाट खेल्नुभन्दा कमर्सियल लिग र आफ्नो व्यक्तिगत स्वार्थमा बढी ध्यान दिइरहेको उल्लेख गरिएको छ ।
अफगानिस्तान क्रिकेट बोर्डले दिएको हालको आदेशले भविष्यमा मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीको आईपीएल लगायतका लिग खेल्न नपाउने सम्भावना देखिएको छ । एसीबीले आफ्नो आदेशमा यी तीन खेलाडीलाई २ वर्षसम्म एनओसी नदिने निर्णय गरेको छ । जसमा कुनै पनि विद्यमान एनओसी रद्द गर्ने पनि समावेश छ । मुजीब उर रहमान आईपीएलको कोलकाता नाइट राइडर्स टोलीमा रहेका छन् । नवीन उल लखनउ सुपर जायन्ट्सबाट र फजल फारुकी सनराइजर्स हैदरावादको टिममा छन् ।
२४ वर्षीय फास्ट बलर नविन उल हकले भारतमा भएको एकदिवसीय विश्वकपपछि ओडीआईबाट सन्यास लिएका थिए । नवीनले आफ्नो अन्तिम एकदिवसीय खेल अष्ट्रेलियाविरुद्ध नोभेम्बर ७ मा विश्वकपमा खेलेका थिए ।