काठमाडौँ । धनगढी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।
यस सिजनको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थण्डर्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि यस खेलमा अतिरिक्त ३० मिनेटमा थप १-१ गोल भएपछि २-२ गोलको बराबरीमा खेल सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
पोखरा थण्डर्सले अतिरिक्त समयको पहिलो हाफको १०औं मिनेटमा स्टेफेन कोजोको गोलमा अग्रता लिए पनि खेलको १२०औं मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए ।
यसअघि खेलको पाँचौं मिनेटमा नै आयुष घलानको गोलमा पोखराले अग्रता बनाएको थियो भने खेलको ५३औं मिनेटमा धनगढी एफसीले देवेन्द्र तामाङको गोलमा बराबरी गर्दै खेलमा फर्किएको थियो ।
यो जितपछि धनगढी फाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोखरा ठण्डर्सले अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । अब पोखराले काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ ।
इलिमिनेटरको खेल मंगलबार हुने छ भने दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदै छ ।