काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त छलफलमा बोल्दै प्रधानमन्त्रीले कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिएका हुन् ।
उनले पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोच्न आग्रह गरे । ‘हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं। त्यसैले तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं। पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ।’
प्रचण्डले नकारात्मक प्रवृत्ति बढेको बताउँदै लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोजेको भन्दै चिन्ता व्यक्त गरे ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयावी हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताए ।